दफा ४३
उद्योग र शहरीकरण
: (१) जनस्वास्थ्यमा पर्न सक्ने प्रतिकूल प्रभावको पहिचान गरी रोकथाम गर्न र जोखिम न्यूनीकरण गर्न तोकिएका उद्योग, व्यवसाय तथा आयोजनाको स्वीकृति लिनु अघि जनस्वास्थ्य प्रभाव मूल्याङ्कन गर्नु पर्नेछ।
(२) उपदफा (१) अनुसारको जनस्वास्थ्य प्रभाव मूल्याङ्कनको मापदण्ड, संयन्त्र र तहगत कार्यक्षेत्र सङ्घीय कानूनले तोके बमोजिम हुनेछ।
(३) कुनै उद्योग, व्यवसाय तथा आयोजनाले उचित प्रकारले फोहोर व्यवस्थापन नगरी वा कुनै प्रकारको विकिरणका कारण जनस्वास्थ्यमा प्रतिकूल असर पारेमा सोको कारणले प्रभावित व्यक्तिहरूका लागि स्वास्थ्य उपचार र भौतिक क्षति, पशु पक्षी लगायत अन्य क्षति भएको अवस्थामा सोको उचित क्षतिपूर्तिको व्यवस्था सम्बन्धित उद्योगी, व्यवसायी तथा आयोजनाले गर्नु पर्नेछ।
(४) सङ्घ, प्रदेश, स्थानीय तहले स्वास्थ्यका दृष्टिकोणले पर्याप्त खेल, मनोरञ्जन स्थल, पार्क, पैदल हिँड्ने व्यवस्था, साइकल चलाउन मिल्ने गरी जनस्वास्थ्य मैत्री शहरीकरण प्रवर्धनको व्यवस्था मिलाउनु पर्नेछ।
(५) नेपाल सरकारले प्रचलित कानून बमोजिम स्थानीय तहले पाउने अनुदान निर्धारण गर्दा जनस्वास्थ्य मैत्री सूचकाङ्क विकास गरी समावेश गर्नु पर्नेछ।